बागलुङ महोत्सवमा १० करोडको कारोबार
बाग्लुङ | पुस २३, २०८०
बागलुङ: बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र १० करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
सङ्घको आयोजनामा सम्पन्न भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको उजागर गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवमा एक सय २० व्यापारिक कक्ष, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री कक्ष तथा लुकेर रहेका पर्यटकीयस्थल चिनाउन फोटो प्रदर्शनी गरिएको थियो ।
महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, भुटेको मकै, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन मुला, फर्सी, टमाटरलगायत कृषिउपजको प्रदर्शनी गरिएको थियो । “महोत्सवले निराशातर्फ गएको बागलुङको व्यापारलाई माथि उठायो, धेरै व्यापारिक कक्ष खाली नै हुनेगरी व्यापार भयो, बागलुङ बजार आसपासका क्षेत्रका नागरिकसमेत किनमेलका लागि आउनुभयो”, अध्यक्ष कँडेलले भन्नुभयो, “महोत्सवको आकर्षणका रूपमा फोटो प्रदर्शनी र स्थानीय उत्पादन प्रभावकारी रहे । महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, महोत्सवले बागलुङको पर्यटन र व्यापारमा एउटा इँटा थपेको छ ।”
कोरोनापछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी भएको सङ्घका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभयो । “मुख्य मञ्च, व्यापारिक कक्ष, रमाइलो मेलालगायतले धेरैलाई आकर्षण गरेको थियो, दुलही जस्तै सिँगारिएको बागलुङ बजारले व्यापार व्यवसायलाई फस्टाउन मद्दत गरेको थियो”, गौतमले भन्नुभयो, “महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा आयोजना गर्नु ऐतिहासिक उपलब्धि भएको छ ।”
महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा प्रत्यक्ष दोहोरी गीत प्रतियोगिता, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता सम्पन्न गरिएको छ । सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकम सदस्य कल्याणकारी कोषमा पाँच लाख जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति कोषमा सहयोग गरिने, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासङ्घको संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

